इनरुवा, ४ फागुन । गगन थापा ले आफ्नो चर्चित अभिव्यक्ति—‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’—बारे प्रष्ट पार्दै नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढाउने खाका सार्वजनिक गरेका छन्।
सोमबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि (आईटी) क्षेत्रमा साना नीतिगत सुधारले पनि ठूलो परिणाम दिन सक्ने विश्वास व्यक्त गरे। उनले आगामी पाँच वर्षभित्र नेपाललाई “डिजिटल हब” बनाउने महत्वाकांक्षी योजना अघि सारेका हुन्।
थापाले अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका सुधारले सकारात्मक नतिजा दिएको उल्लेख गर्दै अब थप व्यवस्थित र दीर्घकालीन नीति आवश्यक रहेको बताए। उनले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’का रूपमा अघि बढाउने लक्ष्य राखेका छन्।
उनका अनुसार पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात सम्भव छ। साथै, २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने र कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
योजना कार्यान्वयनका लागि उनले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकता दिने प्रस्ताव गरेका छन्।
उनले नेपाल अब फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नरही आफ्नै डिजिटल उत्पादन विकास र निर्याततर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। साथै, सरकारले स्वदेशी प्रविधि र डिजिटल उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्नेमा जोड दिए।