इनरुवा, ४ फागुन । सुनसरी क्षेत्र नम्बर–२ मा चुनावी माहौल दिनप्रतिदिन तातिँदै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पुराना राजनीतिक दल र नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
क्षेत्र हेरफेर भए पनि रामधुनी हुँदै इनरुवा देखि कप्तानगञ्जसम्म फैलिएको यस क्षेत्रमा लामो समयसम्म नेपाली कांग्रेसले वर्चस्व कायम राख्दै आएको थियो। संविधानसभाको पहिलो निर्वाचनमा मधेशी जनअधिकार फोरमका मुगाँलाल मेहता विजयी भएका थिए। हालको क्षेत्र संरचना कायम भएपछि २०७९ सालमा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका थिए। त्यसअघि अधिकांश निर्वाचनमा कांग्रेसकै उम्मेदवार विजयी हुने गरेका थिए।
यस पटकको निर्वाचनमा नेपाली कांग्रेसबाट राजीव कोइराला, नेकपा एमालेबाट सुजन लामा, नेकपा माओवादी केन्द्रबाट रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापा, जसपा नेपालबाट रामचन्द्र मेहता, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष मेहता लगायतका उम्मेदवार चुनावी मैदानमा छन्। फरक–फरक पृष्ठभूमि, राजनीतिक धार र मतदाता समूहको प्रतिनिधित्व गर्ने उम्मेदवार मैदानमा उत्रिएकाले चुनावी गणित जटिल बनेको विश्लेषण गरिँदैछ।
जिल्लाकै सबैभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा कुल १ लाख ५८ हजार ९ सय १० मतदाता छन्। जसमध्ये ७९ हजार ३ सय ३९ पुरुष, ७९ हजार ५ सय ७० महिला र १ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक मतदाता रहेका छन्।
इटहरी, इनरुवा, रामधुनीजस्ता सहरी क्षेत्रदेखि भारतीय सीमासँग जोडिएको देवानगञ्ज र हरिनगर–३ सम्म फैलिएको यस क्षेत्रमा परम्परागत दल र नयाँ राजनीतिक शक्तिबीचको प्रत्यक्ष प्रतिस्पर्धा देखिएको छ। पुरानो राजनीतिक संरचना र उदाउँदै गएको नयाँ मतदाता मनोविज्ञानबीचको भिडन्तका रूपमा पनि सुनसरी–२ लाई हेरिएको छ।
अघिल्लो निर्वाचनमा एमालेका भीम आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याएका थिए। त्यसबेला रास्वपाका लालविक्रम थापाले १९ हजार ३ सय ८६ मत प्राप्त गरेका थिए। त्यतिबेला एमाले–जसपा गठबन्धनको प्रभाव देखिएको विश्लेषण गरिएको थियो। यस पटक जसपा नेपालले आफ्नै उम्मेदवार उठाएको छ भने सरकार निर्माणका अस्थिर समीकरण, सुशासन र अर्थतन्त्रका सवालले परम्परागत दलप्रति जनविश्वास घट्दै गएको चर्चा पनि भइरहेको छ।
मतदाता संरचना पनि निर्णायक मानिएको छ। थारु समुदायको उल्लेख्य उपस्थिति, सहरी मतदाता, युवा तथा वैदेशिक रोजगारीमा संलग्न परिवारको प्रभावले नतिजा अझ अनिश्चित बनेको छ।
कांग्रेस उम्मेदवार राजीव कोइराला कोशी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलका नेताका रूपमा काम गरिसकेका अनुभवी राजनीतिज्ञ हुन्। एमालेका सुजन लामा युवा अनुहारका रूपमा प्रस्तुत भएका छन् भने पार्टी संगठन उनको मुख्य शक्ति मानिएको छ। माओवादी केन्द्रकी रामकुमारी चौधरी थारु समुदायमा प्रभावशाली मानिन्छिन् र उनी पूर्व कृषि राज्यमन्त्री समेत हुन्। रास्वपाका लालविक्रम थापा ‘नयाँ राजनीति’को नारासहित असन्तुष्ट र परिवर्तन चाहने मतदातालाई आकर्षित गर्ने प्रयासमा छन्।
त्यसैगरी जसपा नेपालका रामचन्द्र मेहता र राष्ट्रिय मुक्ति पार्टीका सन्तोष मेहताले पनि चुनावी माहौल आफ्नो पक्षमा बनाउन व्यापक तयारी गरेका छन्। उनीहरूले मतदातासम्म पुग्न सक्रिय अभियान सञ्चालन गरिरहेका छन्। कांग्रेस आफ्नो पुरानो इतिहास पुनः दोहोर्याउने दाउमा देखिएको छ भने एमाले अघिल्लो जितलाई कायम राख्दै निरन्तरता दिन चाहन्छ। उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यसपटक निर्णायक जित हात पार्ने दाउमा सक्रिय रूपमा चुनावी अभियानमा जुटेको छ।
यस क्षेत्रमा प्रमुख ६ जना उम्मेदवारसहित ९ जना स्वतन्त्र गरी कुल २८ जनाले उम्मेदवारी दिएका छन्। अन्तिम परिणाम उम्मेदवारको व्यक्तिगत विश्वसनीयता, मत विभाजन, अन्तिम चरणको प्रचार रणनीति र मतदाताको अन्तिम मनोविज्ञानले निर्धारण गर्ने देखिन्छ।
सुनसरी–२ यस पटक केवल चुनावी प्रतिस्पर्धा मात्र नभई पुराना र नयाँ राजनीतिक शक्तिबीचको परीक्षणस्थल बनेको छ।