पूर्व क्षेत्र देशकै पहिलो औद्योगिक आधारः रास्वपा नेता बालेन्द्र शाह

Logo
Popular News मंगलबार, फाल्गुण १२, २०८२

इनरुवा, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाहले पूर्व क्षेत्र देशकै पहिलो औद्योगिक आधार भएको बताएका छन्।

मंगलबार इटहरीमा आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै नेता शाहले उक्त विषय स्मरण गराउँदै नयाँ उद्योग स्थापना प्रक्रियामा प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेप मुख्य अवरोध बनेको आरोप लगाए।

उनले उद्योग खोल्न नेतादेखि कर्मचारीसम्म ‘ढोग्नुपर्ने’ अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उद्योग सञ्चालनपछि देखिने ‘चन्दा आतंक’ रोक्न कडा व्यवस्था गरिने बताए।

‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम, दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो।’ तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले उल्लेख गरे।

उनले भने, ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।’

पूर्वी तराईका तीन–चार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्न सके सिंगो देशभर खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही लक्ष्य लिएको बताए।

शाहले पूर्वलाई उत्पादन र आम्दानीको आधार बनाउने दीर्घकालीन अवधारणा अघि सारे। पूर्वी तराईमा बर्सेनि दोहोरिने बाढी र सुख्खा समस्यालाई औंल्याउँदै उनले दिगो सिँचाइ प्रणाली निर्माण अपरिहार्य रहेको बताए। वर्षायाममा बाढी नियन्त्रणका लागि प्रभावकारी तटबन्ध र सुख्खा मौसममा नियमित सिँचाइ उपलब्ध गराउने पूर्वाधार विकासमा राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

खेतीयोग्य जमिन बालुवाले पुरिने र पानी अभावले बाँझै बस्ने अवस्थालाई अन्त्य गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको उनले जोड दिए।

साथै, पूर्वका धार्मिक तथा सांस्कृतिक स्थललाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै पाथीभरा देवी मन्दिर, मुक्मलुङखुवालुङलाई साझा आस्थाको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार धार्मिक पर्यटन विस्तारले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुग्नेछ।

त्यस्तै, उनले पूर्वमा फुटबल रंगशाला निर्माण र खेलाडी उत्पादनमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। खेल क्षेत्रलाई युवाको अवसर र पहिचानसँग जोड्दै उनले यसलाई आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।

करिब पाँच मिनेट सम्बोधन गरेका नेता बालेनले आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्दै उत्पादन, पर्यटन र धार्मिक–सांस्कृतिक क्षेत्रको विकासमार्फत कोशी प्रदेशलाई समृद्ध बनाउन सकिने बताए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800