इनरुवा, २४ फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोक कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गच्छदारले २० हजार ५०१ मत मात्रै ल्याए। २०७९ सालकी विजेता भगवती चौधरी यसपटक तेस्रो स्थानमा रहँदै १५ हजार ८३ मत प्राप्त गरिन्।
सुनसरी–३ बाट पटक–पटक विजयी हुँदै आएका गच्छदार यसपटक पनि पराजित भएका छन्। २०४८ सालदेखि निरन्तर प्रभाव कायम गरेका गच्छदार २०७९ को निर्वाचनमा पहिलोपटक पराजित भएका थिए। त्यसपछि भएको यस निर्वाचनमा पनि उनी जित हासिल गर्न असफल भए।
महेन्द्र मोरङ क्याम्पसबाट २०२६ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरेका गच्छदारले २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा लगातार जित निकाल्दै ह्याट्रिक गरेका थिए। नेपाली कांग्रेसबाट सांसद र मन्त्री बनेका उनी २०६४ सालमा कांग्रेस छोडेर मधेसी जनअधिकार फोरममा प्रवेश गरेपछि पनि संविधानसभा निर्वाचनमा विजयी भएका थिए।
२०६६ सालमा माधव कुमार नेपाल नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री बनेका थिए। २०७० सालमा फोरम लोकतान्त्रिक गठन गरी पुनः सुनसरी–३ बाट निर्वाचित भएका उनी २०७४ सालमा उक्त पार्टीलाई कांग्रेसमा विलय गराउँदै पुनः कांग्रेसमा फर्किएका थिए।
२०७४ मंसिरको निर्वाचनमा उनले भगवती चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए। तर २०७६ सालमा ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बनमा परेको थियो। विशेष अदालतले सफाइ दिए पनि उक्त मुद्दा अहिले पनि पुनरावेदनमा विचाराधीन छ।
लगातार तीन दशकसम्म सुनसरी–३ मा प्रभाव जमाएका गच्छदारको राजनीतिक यात्रामा २०७९ सालले ब्रेक लगाएको थियो। त्यस निर्वाचनमा भगवती चौधरीले करिब ५ हजार मतान्तरले उनलाई पराजित गर्दै लामो वर्चस्व तोडेकी थिइन्।
यस निर्वाचनमा भने रास्वपाका चौधरीले उल्लेख्य मतान्तरसहित जित हासिल गर्दै क्षेत्रमा नयाँ राजनीतिक तरङ्ग सिर्जना गरेका छन्। २०७९ सालको निर्वाचनमा रास्वपाले यस क्षेत्रमा ६ हजारभन्दा बढी मत ल्याएको थियो भने यसपटक चौधरीले ठूलो मतान्तरसहित जित हासिल गरेका हुन्।
सुनसरी–३ थारु समुदायको बाहुल्य क्षेत्र मानिन्छ। यस क्षेत्रमा एमालेकी भगवती चौधरी, जनमत पार्टीका रामनारायण थारु, नेपाल कम्युनिस्ट पार्टीका दुर्गेश चौधरी लगायतका उम्मेदवार प्रतिस्पर्धामा थिए।