काठमाडौं, २९ फागुन । सङ्घीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि खुसीको विषय भएको बताएको छ। मोर्चाले शाहले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गरेको छ।
शुक्रबार महन्थ ठाकुरको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले बालेनको जितलाई मधेसी, थारु लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, सङ्घर्ष र बलिदानको परिणामका रूपमा चित्रित गरेको छ।
जसपा नेपालका संरक्षक ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मधेशी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले उहाँलाई प्रधानमन्त्रीका रूपमा हेर्न पाउनु हामी लामो समयदेखि सङ्घर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका लागि हर्षको विषय हो।”
बधाई ज्ञापनसँगै मोर्चाले बालेनको नेतृत्वबाट मधेसका पुराना तथा थाती रहेका मुद्दाहरू सम्बोधन हुने ठूलो अपेक्षा राखेको जनाएको छ। नेपाली जनताले विगतमा गरेका सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, लोकतन्त्र र समावेशिता लगायतका उपलब्धिहरूलाई नयाँ सरकारले संस्थागत गर्ने विश्वास मोर्चाले व्यक्त गरेको छ।
साथै, संविधान संशोधन, प्रदेशको सीमाङ्कन हेरफेर, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा सङ्घीयतालाई अझ बलियो बनाउने जस्ता महत्त्वपूर्ण मुद्दाहरू बालेनको नेतृत्वमा सम्बोधन हुने विश्वास मोर्चाले व्यक्त गरेको छ।
बैठकले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अग्रिम शुभकामना तथा बधाईसमेत ज्ञापन गरेको छ
