काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ।
प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारेर चुनावमा गएको रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ नजिकको बहुमत हासिल गरेको छ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल ले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक परे विधान संशोधन गर्ने बताइन्। उनले भनिन्, “हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौँ। एक प्रकारले हेर्दा हाम्रो संसदीय दलको नेता पनि उहाँ नै हुनुहुन्छ। उहाँलाई दलको नेता बनाउन विधानमा आवश्यक प्रावधान हेरफेर गर्छौँ।”
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता छनोट गर्ने व्यवस्था रहेको छ। उक्त धाराको उपधारा (ख) अनुसार संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा पार्टीका सबै साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान छ। यही प्रावधान संशोधन गर्ने तयारी पार्टीले गरेको हो।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले दुई तिहाइ बहुमतका लागि दुई सिट अपुग हुने गरी १८२ सिट जितेको थियो। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।
समानुपातिक उम्मेदवार छनोटका विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच अनौपचारिक छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।