इनरुवा, ३० फागुन । सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकबाट प्रतिबन्धित लागूऔषध बिक्री–वितरण गरेको आरोपमा एक मेडिकल सञ्चालिका पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा ३२ वर्षीया मोनिका चौधरी रहेको प्रहरीले जनाएको छ। उनी मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थायी घर भई हाल गढी–२ मा डेरा गरी बस्दै आएकी हुन्।
प्रहरीका अनुसार चौधरीले सञ्चालन गर्दै आएको शिवमहिमा मेडिकल हल फार्मेसी मा प्रतिबन्धित लागूऔषध बिक्री भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा फार्मेसीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला परेपछि चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच मोरङको विराटनगर महानगरपालिका–३ बरगाछी चोकबाट भारतको अररिया घर भएका पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजासहित पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।