अव्यवस्थित पार्किङले इनरुवा बजार अस्तव्यस्त

बजार क्षेत्रमा देखिने यस्तो अवस्थाले स्थानिय सरकार र स्थानिय सरकार प्रमुखको खोजी गरीरहेको छ ।
Logo
Popular News शनिबार, फाल्गुण ३०, २०८२

इनरुवा, ३० फागुन। सुनसरीको इनरुवा बजार क्षेत्रमा सडक किनारमा हुने अव्यवस्थित पार्किङका कारण दैनिकजसो सवारी आवागमन प्रभावित हुन थालेको छ। बजारको मुख्य सडकमा दुवै साइडमा मोटरसाइकल पार्किङ गरिन्छ भने त्यसको दोस्रो लहरमा सिटी रिक्सा समेत पार्किङ गर्ने गरेको छ।

यसरी दुई तहमा सवारी साधन पार्किङ हुँदा सडकको बीच भाग निकै साँघुरो बन्ने गरेको छ। बाँकी रहेको सानो स्थानबाटै सवारी साधन र पैदल यात्रुहरू आवतजावत गर्न बाध्य हुँदा बजार क्षेत्र अस्तव्यस्त बन्ने गरेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार अव्यवस्थित पार्किङका कारण सवारी जाम बढ्नुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ। बजारमा दैनिक हजारौँ मानिसको आवतजावत हुने भए पनि पार्किङ व्यवस्थापन प्रभावकारी नहुँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूको भनाइ छ।

यता बजार क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न इनरुवा नगरपालिका भने मुखदर्शक बनेको स्थानीयको आरोप छ। पार्किङ व्यवस्थापन तथा ट्राफिक नियन्त्रणका लागि नगरपालिकाले ठोस पहल नगर्दा समस्या यथावत रहेको बताइएको छ।

बजार क्षेत्रमा देखिएको यस्तो अवस्थाले स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयले बजार क्षेत्रमा व्यवस्थित पार्किङको व्यवस्था गरी सवारी आवागमन सहज बनाउन नगरपालिकाले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। बजार क्षेत्रमा देखिने यस्तो अवस्थाले स्थानिय सरकार र स्थानिय सरकार प्रमुखको खोजी गरीरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800