इनरुवा, ४ चैत्र । बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो भएको भीषण आगलागीमा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। अचानक सल्किएको आगोले केहीबेरमै सिंगो बस्ती नै खरानी बनाएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङ का सूचना अधिकारी डीएसपी लीलाराज लामिछाने का अनुसार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो फुसको छाना र टाटीबेराले बनेका घरका कारण तीव्र रूपमा फैलिएको थियो। आगलागीका क्रममा घरभित्र रहेका ग्यास सिलिन्डरहरू समेत विस्फोट हुँदा अवस्था झनै भयावह बनेको र नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना पाएलगत्तै विराटनगर महानगरपालिका का दुई र इटहरी उपमहानगरपालिका को एक दमकल घटनास्थलमा खटिएका थिए। सुरक्षाकर्मी, दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासपछि मात्र आगो नियन्त्रणमा लिन सकिएको हो।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात लगायत दैनिक प्रयोगका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। अचानक आएको यस विपत्तिले मुसहर बस्तीका ११ परिवारलाई विस्थापित बनाएको छ।