काठमाडौँ, ४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुक र जनताले परिवर्तन चाहिसकेपछि त्यसलाई दुनियाँको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।
सभापति लामिछानेले पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नेपाली जनताले आफ्नो पार्टीप्रति ऐतिहासिक विश्वास देखाएको उल्लेख गरे।
उनले भने, “नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास यसपटक हामीलाई गरेका छन्।” उक्त विश्वासको जिम्मेवारीलाई गम्भीर रूपमा लिन सांसदहरूलाई उनले आग्रह गरे।
लामिछानेका अनुसार पार्टी स्थापना हुँदा कार्यक्रममा सहभागी हुनेको संख्या निकै न्यून हुने गरे पनि अहिले त्यही संख्यामा सांसदहरू पुगेको अवस्था आएको छ। “सुरुवातमा हामीलाई सुन्न आउने मान्छे पनि कम हुन्थे, आज त्यति नै संख्यामा हाम्रो प्रतिनिधित्व संसदमा छ,” उनले भने।
उनले मुलुक परिवर्तनको दिशामा अघि बढिसकेको दाबी गर्दै जनताको चाहनाअनुसार परिवर्तनको यात्रालाई कसैले पनि अवरोध गर्न नसक्ने स्पष्ट पारे।