कोशी प्रदेशमा बर्ड फ्लु भयावह बन्दै, नियन्त्रणका प्रयास तीव्र

मन्त्रालयको आग्रह: उच्च सतर्कता अपनाउनुहोस्
Logo
Popular News आइतबार, चैत्र ०८, २०८२

इनरुवा, ८ चैत्र । कोशी प्रदेशका सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा कुखुरामा देखिएको बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि अवस्था भयावह बन्दै गएको छ। एक दर्जन स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार सुन्दरहरैचा–४ स्थित हलेसी महादेव कृषि फर्म, उर्लाबारी–८ को अठियावारी कृषि फर्म र कटहरी–२ को ई–टु–जेड पोल्ट्री फर्ममा संक्रमण पुष्टि भएको छ। ती फर्महरूमा रहेका संक्रमित कुखुरा तथा पन्छीजन्य सामग्री नष्ट गरिएको उनले जानकारी दिए।

यसैगरी सुनसरीको  इटहरी–१९ को ओको कृषि फार्ममा पनि संक्रमण देखिएपछि आवश्यक नियन्त्रणका उपायहरू लागू गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार संक्रमित पन्छी तथा सामग्री सुरक्षित रूपमा नष्ट गरिएको छ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार झापा र सुनसरीका थप स्थानहरूमा पनि संक्रमण पुष्टि भएको छ। दमक–१० को दमक एग्रीकल्चर फर्म, इटहरी–१८ को रानी कृषि फर्म, इटहरी–११ को हैदर अलीको फर्म, इटहरी–१७ को लक्ष्मी पोल्ट्री फर्म र गढी–५ मा सजिव कुमार सरदारको फर्ममा संक्रमण देखिएको जनाइएको छ। ती क्षेत्रमा हाल इपिडेमियोलोजिकल अध्ययन भइरहेको छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा विशेष निगरानी राखिएको छ। मरेका कुखुरा सुरक्षित रूपमा गाड्ने तथा व्यापक रूपमा निःसंक्रमण (डिसइन्फेक्सन) अभियान सञ्चालन भइरहेको छ।

मन्त्रालयको आग्रह: उच्च सतर्कता अपनाउनुहोस्

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले एक महत्वपूर्ण सूचना जारी गर्दै नेपालमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) रोगको नियमित निगरानी भइरहेका क्रममा हाल मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थान तथा कुखुरा फार्महरूमा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार रोग तीव्र गतिमा फैलिरहेको छ र संक्रमित कुखुरामा मृत्युदर समेत उच्च देखिएको छ। संक्रमण नियन्त्रणका लागि बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम प्रभावित क्षेत्रहरूलाई रोगग्रस्त क्षेत्र घोषणा गरी संघ, प्रदेश र स्थानीय तहका निकायहरू परिचालन गरिएका छन्।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेश, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगर लगायतका निकायबाट आकस्मिक रोग अन्वेषण टोली खटाइएको छ। टोलीको सिफारिस अनुसार प्रभावित क्षेत्रमा पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गर्ने र निःसंक्रमण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

रोग अन्य क्षेत्रमा फैलिन नदिन कडाइका साथ नियन्त्रण अभियान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ। यसका साथै बर्ड फ्लु पूर्ण रूपमा नियन्त्रणमा ल्याउन आम नागरिक तथा सरोकारवालाहरूलाई निम्न सावधानी अपनाउन आग्रह गरिएको छः

सावधानीका उपायहरू:
१. कुखुरा फार्ममा अनावश्यक व्यक्ति र सवारी साधन प्रवेश गर्न नदिनुहोस्।
२. प्रवेश गराउनु परेमा अनिवार्य रूपमा निःसंक्रमण गर्नुहोस्।
३. एउटै व्यक्तिले एकभन्दा बढी फार्ममा काम नगर्नुहोस्।
४. प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्नुहोस्।
५. फार्म प्रवेशद्वारमा फुटबाथ (चुना वा औषधि) प्रयोग गर्नुहोस्।
६. खोरभित्र छुट्टै बुट र एप्रोन लगाउनुहोस्।
७. दैनिक रूपमा खोरभित्र र बाहिर निःसंक्रमण गर्नुहोस्।
८. कुकुर, बिरालो, मुसा जस्ता जनावर प्रवेश गर्न नदिनुहोस्।
९. मरेका पन्छीलाई सुरक्षित रूपमा गाड्नुहोस्।
१०. कामदारहरूले व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस् र समस्या देखिएमा स्वास्थ्य संस्थामा जानुहोस्।
११. संक्रमित क्षेत्रबाट पन्छी तथा उत्पादनको ओसारपसार नगर्नुहोस्; आवश्यक परे भेटेरिनरी प्रमाणपत्र लिनुहोस्।

बर्ड फ्लु के हो ?

बर्ड फ्लु Highly Pathogenic Avian Influenza (H5N1) एक अत्यन्त सङ्क्रामक भाइरल रोग हो, जसले कुखुरा, हाँस लगायतका पन्छीहरूलाई प्रभावित गर्छ। यो रोग H5N1  टाइप भाइरसका कारण फैलिने गर्दछ र छिट्टै एक फार्मबाट अर्को फार्ममा सर्न सक्छ।

यस रोगका मुख्य लक्षणहरूमा पन्छीहरू अचानक मर्नु, दाना नखानु, सुस्त हुनु, टाउको तथा घाँटी सुन्निनु र अण्डा उत्पादन घट्नु पर्दछन्। संक्रमित पन्छीको सम्पर्क, फोहोर दाना-पानी वा उपकरणको प्रयोगबाट रोग फैलिन्छ।

बर्ड फ्लु कहिलेकाहीँ मानिसमा पनि सर्न सक्छ। त्यसैले सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ।

रोकथामका लागि फार्म सफा राख्ने, संक्रमित पन्छी छुट्याउने, मरेका पन्छी सुरक्षित रूपमा व्यवस्थापन गर्ने, तथा मास्क र पञ्जा प्रयोग गर्ने जस्ता उपायहरू अपनाउनुपर्छ। राम्रोसँग पकाएको मासु खानु पनि सुरक्षित मानिन्छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800