इनरुवा, १२ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथ कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । यसअघि रामचन्द्र पौडेल ले बुधबार ज्येष्ठ सदस्य केसीलाई शपथ गराउनुभएको थियो ।
शपथ समारोह सिंहदरबार स्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ । सचिवालयका अनुसार ४७ जना सांसदहरूले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन् ।
नेपालको संविधानको धारा ९९ र धारा ९१ (उपधारा ५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरूले सिट प्राप्त गरेका छन्, जसअनुसार नयाँ संसद् गठन भई शपथ कार्यक्रम आज हुन लागेको हो ।