इनरुवा, १३ चैत। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार ग्रहण गर्दै जेनजी (Gen Z) को भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शीतलनिवासमा शपथ ग्रहण गरेपछि मन्त्री गुरुङ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।
पदभार ग्रहणका क्रममा उनले गृहमन्त्रालय अन्तर्गतका निकायहरूले प्रदान गर्ने सेवाहरू एकद्वार प्रणालीमार्फत प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशन दिएका छन्।
सुशासनका विषयमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने स्पष्ट पार्दै भिआइपीहरूको आवतजावतका कारण सर्वसाधारणलाई दुःख नहुने अवस्था सुनिश्चित गरिने बताएका छन्।
मन्त्री गुरुङले भने, “जेनजी आन्दोलनको जनादेशअनुसार त्यसलाई कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं। परिवर्तनको सुरुवात गृहमन्त्रालय अन्तर्गतका निकायबाट हुन्छ। सेवा प्रवाहका विषयमा जनताका गुनासाहरू सिधै सरकारले सुन्ने गरी प्रणाली विकास गरेर अघि बढ्छौं।”