काठमाडौं, १७ चैत । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सुविधानगरबाट नियन्त्रणमा लिइएको हो।
रिजाल जेनजी प्रदर्शनका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए। उक्त प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जानेगरी गोली चलाइएको घटनामा उनको भूमिका विवादित बनेको छ। सो घटनामा गोली चलाउन आदेश दिएको आरोप लागेपछि उनको व्यापक आलोचना हुँदै आएको छ।
यद्यपि, गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घातक हतियार प्रयोग गर्न आदेश नदिएको दाबी गरेका छन्।
आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि यसअघि केपी शर्मा ओली र रमेश लेखक समेत पक्राउ परिसकेका छन्।