यातायात कार्यालयका प्रमुखविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु

Logo
Popular News मंगलबार, चैत्र १७, २०८२

इनरुवा, १७ चैत। इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र ‘सेटिङ’का आधारमा उत्तीर्ण गराइएको आरोपपछि छानबिन सुरु गरिएको छ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा परेको उजुरीका आधारमा कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको छ भने उनीमाथि औपचारिक छानबिन अघि बढाइएको हो।

उजुरीमा लाइसेन्स प्राप्तिका लागि अनिवार्य स्वास्थ्य परीक्षणमा समेत अनियमितता हुने गरेको उल्लेख छ। विशेषगरी आँखाको दृष्टि वा अन्य स्वास्थ्य मापदण्डमा असफल भएका परीक्षार्थीहरूलाई ‘रि–चेक’को बहानामा कर्मचारी र बिचौलियाको मिलेमतोमा उत्तीर्ण गराउने गरिएको आरोप लगाइएको छ।

मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार गम्भीर प्रकृतिको उजुरी परेपछि मन्त्रालयले निगरानी बढाएको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि नवौँ तहका अधिकृत तथा कार्यालय प्रमुख सत्याललाई जिम्मेवारीविहीन बनाउँदै मन्त्रालय तानिएको हो।

यस प्रकरणको छानबिनका लागि मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिलादेवी निरौलाको संयोजकत्वमा गठन गरिएको समितिमा कानुनी सल्लाहकार, आईटी विज्ञ तथा प्रशासनिक कर्मचारीहरू समावेश छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको सचिव तामाङले जानकारी दिए।

‘स्वास्थ्य परीक्षणमा असफल भएकाहरूलाई समेत उत्तीर्ण गराइएको गुनासो आएपछि सम्बन्धित फाइलहरू सिल गरिएको छ,’ सचिव तामाङले भने, ‘छानबिन प्रतिवेदन नआउन्जेल कार्यालय प्रमुखलाई कुनै जिम्मेवारी दिइने छैन।’

उता, मन्त्रालय तानिएका प्रमुख सत्यालले आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन्। उनले कार्यालयको काम पारदर्शी रहेको बताउँदै छानबिन चलिरहेकाले थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।

हाल यातायात व्यवस्था कार्यालय इटहरीमा वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800