इनरुवा, ३० चैत। कोशी प्रदेश सरकार ले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले सुनसरीको इटहरीस्थित अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्न थालेको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिले पहिलो चरणमा २८७ जना बचतकर्ताको रकम फिर्ता गरिने जानकारी दिएको छ। समितिका अध्यक्ष भरतबहादुर थापा का अनुसार २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर प्रक्रिया सुरु गरिएको हो।
२०८१ मंसिर १८ गते समिति गठन भएपछि पुस महिनामा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो। समितिले जिम्मेवारी सम्हालेपछि करिब २ हजार महत्त्वपूर्ण फाइलहरू व्यवस्थित गर्नुका साथै सञ्चालक समिति र कर्मचारीको अधिकार निलम्बन गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
समितिले जिल्ला अदालत सुनसरी बाट आवश्यक कागजातको प्रमाणित प्रतिलिपि प्राप्त गरी सुरक्षा निकायसँग समन्वय गरेर कानुनी प्रक्रिया अगाडि बढाएको छ। ९ हजार ५५९ जना सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी ४ करोड ६ लाख रुपैयाँभन्दा बढी रहेको छ भने कुल बचत दायित्व ४२ करोड ६० लाख ९८ हजार रुपैयाँभन्दा बढी छ। हालसम्म १ हजार १७३ जना बचतकर्ताले २४ करोड ८८ लाख रुपैयाँ बराबरको मात्र दाबी पेस गरेका छन्।
अनुसन्धानबाट तत्कालीन अध्यक्ष फडिन्द्रबहादुर पूर्वछाने मुख्य ऋणी रहेको र उनले करिब २० करोड रुपैयाँ ऋण लिएर अपचलन गरेको खुलेको छ। समितिले हालसम्म संस्थाको नाममा रहेका ४२ वटा जग्गा रोक्का गरिसकेको छ।
प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी ले यो पहल नेपालमै पहिलो र उदाहरणीय भएको दाबी गरे। उनले भने, ‘अहिले २० हजार मुनिको रकम फिर्ता सुरु गरेका छौँ, त्यसपछि १ लाख मुनिको भुक्तानी पनि गरिनेछ।’