इनरुवा, ३ जेठ । सुनसरीका विभिन्न बजार तथा बिक्री केन्द्रमा खुलेआम बिक्रीका लागि राखिएको प्रतिबन्धित मुंग्री माछा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।
पछिल्लो एक सातादेखि सुनसरीका सुरक्षा निकायले प्रतिबन्धित मुंग्री माछाविरुद्ध विशेष अभियान सञ्चालन गर्दै विभिन्न स्थानमा छापा मारेर माछा बरामद गरी खाल्डो खनी पुरेर नष्ट गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
सशस्त्र प्रहरीका अनुसार इनरुवा, लौकही, सिसुवा लगायतका क्षेत्रबाट ठूलो परिमाणमा मुंग्री माछा बरामद गरिएको हो । नियन्त्रणमा लिइएको माछा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ ।
मुंग्री माछा स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने भएकाले भारतमा समेत यसको उत्पादन, बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । तर पनि सीमावर्ती क्षेत्र हुँदै अवैधरूपमा नेपाल भित्र्याइने यो माछा सुनसरीसहित तराईका बजारमा छ्यापछ्याप्ती बिक्री हुने गरेको पाइएको छ ।
स्थानीय प्रशासन निकायले पटक–पटक अनुगमन र नियन्त्रणको प्रयास गरे पनि यसको अवैध कारोबार पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो समय भने सुरक्षा निकायले संयुक्त रूपमा अभियान सञ्चालन गर्दै नियन्त्रणलाई कडाइ गरेका छन् ।
यसैबीच, भारतबाट ठूलो परिमाणमा आयात हुने सस्तो माछाका कारण नेपाली स्थानीय किसानले उत्पादन गरेको माछाले उचित बजार र मूल्य नपाउने समस्या अझै कायम रहेको व्यवसायीहरूको गुनासो छ । स्थानीय माछापालक किसानले स्वदेशी उत्पादनको संरक्षण तथा अवैध आयात नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।