कांग्रेसका सभापति थापा: “कहाँ हुनुहुन्छ प्रधानमन्त्री जी ? म कुरा गर्न चाहन्छु ?”

Logo
Popular News शुक्रबार, जेठ ०८, २०८३

इनरुवा, ८ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै वर्तमान सरकार र प्रधानमन्त्रीप्रति कडा टिप्पणी गरेका छन् ।

उनले “कहाँ हुनुहुन्छ प्रधानमन्त्रीजी ? म कुरा गर्न चाहन्छु ?” भन्दै सरकारसँग प्रत्यक्ष संवाद गर्न चाहेको बताएका हुन् । थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई राजनीतिक “स्टन्ट” का रूपमा प्रयोग नगर्न आग्रह गर्दै अपरिपक्व ढंगले अघि बढाउँदा संवैधानिक जटिलता निम्तिन सक्ने चेतावनी दिए ।

थापाले सरकार संविधान र कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै लोकप्रियताको आधारमा मनपरी निर्णय गर्न नहुने बताए । “म शक्तिशाली छु, म लोकप्रिय छु भनेर जे पनि गर्न पाइँदैन,” भन्दै उनले सरकारलाई विधि, प्रक्रिया र संवैधानिक सीमाभित्र रहेर काम गर्न आग्रह गरे ।

सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले मानव संवेदना र कानुनी प्रक्रियालाई बेवास्ता गर्न नहुने धारणा राखे । व्यवसायीमाथिको कारबाही वा बस्ती हटाउने निर्णय कानुनी आधार र उचित प्रक्रियाअनुसार हुनुपर्ने उनको भनाइ थियो ।

संविधान निर्माण प्रक्रियामा आफू प्रत्यक्ष सहभागी रहेको उल्लेख गर्दै थापाले समयसँगै संविधानका धेरै व्यवस्थाको महत्व अझ स्पष्ट हुँदै जाने बताए ।

त्यसैगरी उनले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनामा गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । निष्पक्ष न्यायिक छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरू पारदर्शी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै थापाले सरकारमा सहभागी सांसदहरूको सम्पत्ति विवरणमाथि पनि प्रश्न उठाए । साथै अस्पताल, विद्यालय व्यवस्थापन समिति तथा अन्य सार्वजनिक संस्थामा राजनीतिक भागबन्डाको संस्कृतिले परिणाममुखी कामभन्दा “आफ्ना मान्छे व्यवस्थापन” गर्ने प्रवृत्ति बढाएको आरोप लगाए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800