इनरुवा, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । दिवसको अवसरमा जारी शुभकामना सन्देशमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले सगरमाथा पर्यावरण, जलस्रोत र पर्यटन विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा ले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष सगरमाथा दिवस मनाउने गरिन्छ ।
सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ । पर्यटन विभागका अनुसार हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमै रहेका छन् ।
सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ ८,८४८ दशमलव ८६ मिटर निर्धारण गरिएको थियो ।
यस अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी सङ्घसंस्था तथा स्थानीय तहहरूले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय असर देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिएका छन् ।