इनरुवा, १६ जेठ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद महावीर पुन ले सरकारसमक्ष राख्दै आएका मागहरू क्रमशः पूरा हुँदै गएका छन्।
पुनले संघीय मन्त्रालयहरूको पुनर्संरचना गर्दा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग गरेका थिए। उनको निरन्तर पहल र दबाबपछि सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो।
यसैगरी, उनले कुल पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्नुपर्ने माग पनि उठाएका थिए। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त मागलाई समेत सम्बोधन गरेको छ।
विगतदेखि नै अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनका क्षेत्रमा सक्रिय पुनले राष्ट्रिय आविष्कार केन्द्र मार्फत विभिन्न अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन्। बजेटमार्फत विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा थप लगानी सुनिश्चित गरिएपछि यस क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।