इनरुवा, १६ जेठ । ‘इनरुवा डे’ का नाममा विभेद गरिएको आरोप लगाउँदै महिला अधिकारकर्मीहरूले कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
आठौँ महिला अधिकार दिवसको अवसरमा सत्यनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा पुगेका महिला अधिकारकर्मीहरूले ‘इनरुवा डे’ का नाममा विभेद गरिएको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका हुन् ।
विरोधमा उत्रिएका महिलाहरूले नगरपालिकाले इनरुवा डेका कार्यक्रम तथा सम्मान वितरणमा सबै समुदाय र वर्गलाई समान व्यवहार नगरेको दाबी गर्दै आफ्नो आक्रोश पोखेका थिए । उनीहरूले कालोपट्टी बाँधेर कार्यक्रमस्थलमै विरोध जनाउँदै विभेदपूर्ण कार्यशैली अन्त्य गर्न माग गरेका छन् ।
कार्यक्रममा सहभागी उपप्रमुखसहितका जनप्रतिनिधि र सरोकारवालाको उपस्थितिमा महिला अधिकारकर्मीहरूले आफ्नो धारणा राख्दै समावेशी र न्यायपूर्ण व्यवहार सुनिश्चित गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रम केही समय विरोधका कारण प्रभावित भए पनि पछि नियमित रूपमा सञ्चालन गरिएको थियो।
