काठमाडौँ, २१ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यादव पक्षकै पक्षमा फैसला सुनाएको छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को पूर्ण इजलासले यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिक मान्ने गरी रिट जारी गर्ने निर्णय गरेको हो।
यसअघि अशोक राई सहितका नेताहरूले जसपा नेपालबाट अलग भई नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले उक्त दल दर्ता गरेपछि यादवले आफ्नो दल त्यागेका नेताहरूको निवेदनका आधारमा नयाँ दल दर्ता गर्नु गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले अशोक राई पक्षले दल विभाजनका लागि दिएको निवेदन दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई गैरकानुनी ठहर गरेको छ। यद्यपि फैसलाको पूर्णपाठ अझै सार्वजनिक भएको छैन।