काठमाडौं, २६ जेठ । प्रधानमन्त्री बालेन शाह ले सोमबार पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृहमन्त्रीमा सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूले रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।
गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनको सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनलाई सफाइ दिएपछि पुनः गृहमन्त्रीको जिम्मेवारी सुम्पिएको हो।
त्यस्तै, पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन्।
गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका हुन्।