इनरुवा, ३० जेठ । सुनसरीको हरिनगर गाउँपालिका–२, साविक रामनगर भुटाहा–७ क्षेत्रबाट सशस्त्र प्रहरीले २४ केजी गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बिओपी बसन्तपुरका इन्चार्ज नवराज देवकोटाको कमान्डमा खटिएको टोलीले भुटाहा–बस्मतिया सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–०५८ प १४९ नम्बरको मोटरसाइकलबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा मोटरसाइकल चालक र त्यसमा सवार एक व्यक्ति फरार भएका छन्। बरामद गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।
गाँजा तथा मोटरसाइकल कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बिओपी बसन्तपुरका इन्चार्ज देवकोटाले जानकारी दिए।