कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्न आवश्यक छ : कृषि मन्त्री मन्सुरी

Logo
Popular News सोमबार, आषाढ १५, २०८३

इनरुवा, १५ असार । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्नु आजको आवश्यकता भएको बताएका छन्। उनले प्रदेश सरकार किसानमैत्री नीति तथा योजनामार्फत कृषि क्षेत्रको आधुनिकीकरणमा केन्द्रित भएर काम गरिरहेको उल्लेख गरे।

जिल्ला कृषि ज्ञान केन्द्र सुनसरीद्वारा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री मन्सुरीले किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउने, गुणस्तरीय बीउ तथा रासायनिक मलको आपूर्ति व्यवस्थापनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व दुवै बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले खेतीयोग्य जमिनलाई घडेरीमा परिणत गर्ने तथा उर्वर भूमि बाँझै छाड्ने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय भएको बताए। उनले कृषि योग्य जमिनको संरक्षण, सहकारी खेतीको विस्तार, कृषि व्यवसायीकरण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले वैदेशिक रोजगारीतर्फ युवाको बढ्दो पलायन रोक्न कृषिलाई आकर्षक, व्यवसायिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए। युवाको सक्रिय सहभागिताबिना कृषि क्षेत्रको दिगो विकास सम्भव नहुने उनको धारणा थियो।

कृषि ज्ञान केन्द्रका अनुसार सुनसरीमा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ। चालु आर्थिक वर्षमा प्रतिहेक्टर औसत ४.५३ मेट्रिक टन धान उत्पादन भएको छ भने हालसम्म जिल्लामा करिब १९ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ।

जलवायुमैत्री प्रविधिमार्फत धान उत्पादन वृद्धि गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ आयोजित उक्त महोत्सवमा किसान, कृषि प्राविधिक तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800