इनरुवा, २७ असार। सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले करिब ६ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको विशेष सूचनाका आधारमा शुक्रबार गरिएको अपरेशनमा उक्त सामान बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटर, सुनसरीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप राईको कमाण्डमा खटिएको ६० सदस्यीय टोलीले कोशी गाउँपालिका–१ निवासी श्रीप्रसाद साह र श्यामकुमार यादवका चार वटा गोठमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा चिनी, सुर्ती, लेज, पास्ता, हरियो मटर, मुसुरी दाल, सर्फ, कोकसहितका पेय पदार्थ तथा अन्य विभिन्न किसिमका किराना सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ५ करोड २१ लाख ४३ हजार २०७ रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरी सम्बन्धित निकायमा बुझाइसकिएको छ।