विराटनगर, ८ साउन । विराटनगर विमानस्थलबाट स्रोत खुलाउन नसकेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङलाई साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका बेला नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार तामाङले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ बरामद गरिएको थियो।
बरामद रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा तामाङले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको थियो। विमानस्थलमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाले बरामद नगदसहित उनलाई थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिए।
उपसचिव तहका सरकारी कर्मचारी पक्राउ परेको यति ठूलो घटनाबारे मोरङ प्रहरीले हालसम्म सार्वजनिक जानकारी नदिएको भन्दै प्रश्न उठिरहेको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले अनुसन्धान जारी रहेको बताए।