देवानगञ्ज घटना : सरकार र मृतक परिवारबीच ७ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने

Logo
Popular News शुक्रबार, साउन १५, २०८३

इनरुवा, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच बिहीबार राति औपचारिक सम्झौता भएको हो।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको सम्झौतामा पीडित पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। सहमतिअनुसार नेपाल सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

त्यसैगरी घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने, सम्बन्धित मदरसाको कानुनी हैसियतबारे तत्काल छानबिन थालिने र प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने सहमति भएको छ।

सहमतिमा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने व्यवस्था पनि समेटिएको छ।

सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक तथा जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।

७ बुँदे सहमतिका मुख्य बुँदाहरू :

  • मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने।
  • घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीविरुद्ध कानुनी कारबाही अघि बढाउने।
  • सम्बन्धित मदरसाको कानुनी हैसियतबारे तत्काल छानबिन सुरु गर्ने।
  • प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउने।
  • छानबिन समितिको प्रतिवेदन तथा सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने।
  • स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने।
  • सहमतिअनुसार आवश्यक अन्य प्रक्रिया समन्वयका साथ अघि बढाउने।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800