इनरुवा, २३ साउन । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शनिवार बिहान करिब ५ः३० बजे दुई वटा सवारीसाधनलाई रोकेर जाँच गरेको थियो ।
बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१–०२–००२ च ४८५१ नम्बरको कार र को.११ प ५६०१ नम्बरको मोटरसाइकल जाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद पदार्थको तौल ४१८ किलोग्राम रहेको छ ।
पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिबनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरी रहेका छन् ।
प्रहरीले बरामद गाँजा, कार र मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।