भोटेकोशी बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह

Logo
Popular News बुधबार, भाद्र १७, २०८३

काठमाडौँ, १७ भाद्र । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट वा धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा सरकार थाक्यो भन्दै विश्राम लिने अवस्था नरहेको बताए। संकटको घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने भन्दै सरकार अहोरात्र उद्धार तथा राहतमा खटिरहेको उनको भनाइ छ।

“सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ,” प्रधानमन्त्री शाहले भने।

उनले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै धेरै परिवारका सपना र खुसी खोसेको उल्लेख गर्दै विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

अझै आफ्ना आफन्त फेला नपरेर बाटो हेरिरहेका परिवारको पीडा आफूले गहिरोसँग महसुस गरेको प्रधानमन्त्री शाहले बताए। “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो,” उनले भने।

प्रधानमन्त्रीले बाढी प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि सरकारले गरिरहेको कामबारे पनि सदनलाई जानकारी गराए।

उनका अनुसार हालैको प्राकृतिक विपद्मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला परेको छ। तीमध्ये हालसम्म ९५ जनाको मात्रै पहिचान खुलेको प्रधानमन्त्रीले जानकारी दिए। पहिचान भएका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको उनले बताए।

सरकारले अझै बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहको भनाइ छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800