इनरुवा, १८ भदौ । सुनसरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले वितरण गरेको आयुर्वेदिक औषधि बिल्वादी चूर्ण को सिलबन्दी बट्टाभित्र किरा भेटिएको छ। उक्त औषधि सोलुसन हर्वल कम्पनी प्रालिले उत्पादन गरेको हो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८१/८२ भन्दा अगाडि कार्यालयले खरिद गरेको बिल्वादी चूर्णका केही बट्टामा यस्तो समस्या देखिएको हो। केन्द्रका वैद्य रोशनकुमार साहका अनुसार कम्पनीले तोकेको म्यादभित्रै रहेको औषधिको बट्टा खोल्दा किरा भेटिएको हो।
उनका अनुसार डाक्टरको प्रिस्क्रिप्सनका आधारमा बिरामी मनुष ढकाललाई वितरण गरिएको औषधि उनले घरमा खोलेर हेर्दा किरा भेटिएको थियो। त्यसपछि बिरामीले स्वास्थ्य केन्द्रमा आएर जानकारी गराएका थिए।
वैद्य साहले केही समयअघि सोही कम्पनीबाट उत्पादित अर्को औषधिमा समेत बाहिरी बट्टामा लगाइएको लेबल र बट्टाभित्र रहेको औषधि फरक रहेको भेटिएको बताए।
औषधिको गुणस्तरमाथि प्रश्न उठेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आवश्यक छानबिन तथा कारबाहीका लागि औषधिको नमुनासहित औषधि व्यवस्था विभाग, काठमाडौं र स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरलाई जानकारी गराएको केन्द्रका प्रमुख डा. उमेशकुमार मेहताले बताए। उनका अनुसार औषधिमा देखिएको समस्या सम्बन्धमा सम्बन्धित नियामक निकायबाट आवश्यक परीक्षण तथा छानबिन हुनुपर्नेछ।
सिलबन्दी बट्टाभित्रै किरा भेटिएको तथा एउटै कम्पनीबाट उत्पादित औषधिको बाहिरी लेबल र भित्री सामग्री फरक रहेको भनाइ सार्वजनिक भएपछि औषधिको उत्पादन, भण्डारण र गुणस्तर नियन्त्रण प्रक्रियामाथि प्रश्न उठेको छ।
मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधिमा यस्तो समस्या देखिनु गम्भीर विषय भएकाले सम्बन्धित नियामक निकायले तत्काल परीक्षण तथा छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।
घटनाले नेपाली आयुर्वेदिक औषधिको गुणस्तर तथा विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ।