कप्तानगञ्ज गोलिकाण्डमा तत्कालीन सीडीओसहित सुरक्षा कमान्डरलाई विभागीय कारबाही सिफारिस

छानबिनका क्रममा इन्स्पेक्टर राईले गोली चलाएको र त्यसपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत गोली चलाउँदा मानवीय क्षति भएको निष्कर्ष निकालिएको छ।
Logo
Popular News मंगलबार, भाद्र ३०, २०८३

इनरुवा, ३० भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डबारे छानबिन गर्न गठित समितिले तत्कालीन सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा कमान्डरहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

कप्तानगञ्ज घटनासँगै सिरहाको गोलबजारमा भएको झडपबारे गठित दुई छुट्टाछुट्टै छानबिन समितिले भदौ २ गते गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। दुवै समितिले झडपका क्रममा सुरक्षाकर्मीबाट चलाइएको गोली लागेर मानवीय क्षति भएको निष्कर्ष निकालेका छन्।

सुनसरीको कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन्। छानबिन समितिले तीनै जनाको मृत्यु सुरक्षाकर्मीको गोली लागेर भएको निष्कर्ष निकालेको छ।

कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो। समितिले सुरक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी घिमिरेसहित इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन प्रहरी निरीक्षक राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालीन डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार समितिले प्रमुख जिल्ला अधिकारी र सुरक्षा कमान्डरहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।

कप्तानगञ्जमा झडप नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ खटिएका थिए। उनीहरूमाथि आक्रमण भएपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

छानबिनका क्रममा इन्स्पेक्टर राईले गोली चलाएको र त्यसपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत गोली चलाउँदा मानवीय क्षति भएको निष्कर्ष निकालिएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी कुल २० राउण्ड गोली चलाएको समितिले उल्लेख गरेको छ।

यसैगरी, साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। गोलबजार घटनाबारे सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो।

समितिले सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

गोलबजारमा प्रहरीले सात राउण्ड हवाई फायर र प्रदर्शनकारीतर्फ दुई राउण्ड गोली चलाएको समितिको प्रतिवेदनमा उल्लेख छ। गणेश यादवको मृत्यु प्रहरी निरीक्षक केसीले बोकेको पेस्तोलबाट चलेको गोली लागेर भएको समितिको निष्कर्ष छ।

छानबिनका क्रममा गोलबजारमा सशस्त्र प्रहरीले गोली नचलाएको देखिएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार त्यहाँ सात राउण्ड ‘डमी राउण्ड’ र पेस्तोलबाट दुई राउण्ड गोली चलेको पाइएको छ।

कप्तानगञ्ज र गोलबजार दुवै घटनाका क्रममा भिडबाट समेत गोली चलेको हुनसक्ने अफवाह फैलिएको थियो। तर, छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्यत्रबाट गोली चलेको प्रमाण नदेखिएको निष्कर्ष निकालेको छ।

दुवै घटनाका मृतकलाई सरकारले सहिद घोषणा गरिसकेको छ। छानबिन प्रतिवेदनले सुरक्षा व्यवस्थापनमा जिम्मेवार अधिकारीहरूको भूमिकामाथि प्रश्न उठाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800