विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याइ

Logo
Popular News बुधबार, भाद्र ३१, २०८३

इनरुवा, ३१ भदौ । असोज १ गते मनाइने विश्वकर्मा पूजालाई लक्षित गर्दै सुनसरीका मूर्तिकारहरू भगवान् विश्वकर्माको मूर्ति बनाउन व्यस्त भएका छन्। विश्वकर्मा मूर्तिको माग बढेपछि मूर्तिकारहरूलाई मूर्ति बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको हो।

उद्योग, कलकारखाना, वर्कशप, निर्माण तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार, मेसिन तथा उपकरणका देवताका रूपमा भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा रहेकाले हरेक वर्ष विश्वकर्मा पूजाका लागि मूर्तिको माग हुने गरेको छ। यस वर्ष पनि पूजाको करिब एक साताअघिदेखि नै मूर्तिको माग बढेको मूर्तिकारहरूले बताएका छन्।

इनरुवा नगरपालिका–४ का विनोद मेहता यतिबेला विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन्। विश्वकर्मा पूजा आउनुभन्दा केही दिनअघिदेखि नै ग्राहकबाट माग आउन थालेपछि मागअनुसार मूर्ति तयार पारेर बिक्री गर्ने गरेको उनले बताए।

मेहताका अनुसार उनले सानै उमेरदेखि मूर्ति बनाउँदै आएका छन्। आकार र बनोटअनुसार एउटा मूर्ति करिब ४ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए।

त्यस्तै, इनरुवा नगरपालिका–८ का रामलखन मण्डल पनि विश्वकर्माको मूर्ति निर्माणमा व्यस्त छन्। विश्वकर्मा पूजाका लागि बनाइने मूर्तिबाट राम्रै आम्दानी हुने गरेको उनले बताए। पछिल्ला वर्षहरूमा धार्मिक पर्वप्रति मानिसहरूको चासो बढेसँगै मूर्तिको माग र व्यापार पनि बढ्दै गएको उनको अनुभव छ।

पूजाका लागि बनाइने विश्वकर्माको मूर्तिमा भगवान्लाई हातमा विभिन्न औजार तथा शिल्प सामग्रीसहित देखाउने गरिन्छ। मूर्तिकारहरूले माटोबाट विभिन्न आकारका मूर्ति बनाउने गरेका छन्। उद्योग, वर्कशप तथा व्यवसायीहरूले आफ्नो आवश्यकता र बजेटअनुसार मूर्ति खरिद गर्ने गरेका छन्।

मूर्तिको आकार र बनोटअनुसार बजार मूल्य सामान्यतः २ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने मूर्तिकारहरूले बताएका छन्।

विश्वकर्मा पूजा धार्मिक आस्थासँग मात्र सीमित नभई श्रम, सीप, प्रविधि र उत्पादनसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। यस दिन उद्योग, कलकारखाना, वर्कशप तथा निर्माण क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको विशेष पूजा गर्ने गरिन्छ। यातायातका साधनसमेत विश्वकर्मा पूजाका अवसरमा पूजा गर्ने परम्परा रहेको छ।

पूजापछि विश्वकर्माको मूर्ति भोलिपल्ट धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार नदी, ताल, तलैया लगायतका जलाशयमा विसर्जन गर्ने चलन रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800