इनरुवा, २ असोज । सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको जानकारी दिनुभयो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ। त्यस्तै बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई सिफारिस गरिएको छ।
अन्य प्रस्तावित राजदूतमा जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरबका लागि गिरीबहादुर सुनार रहेका छन्।
परराष्ट्रमन्त्री खनालका अनुसार विभिन्न क्षेत्रबाट विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि छनोट गरिएको हो।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको अब संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि उनीहरूको नाम सम्बन्धित मुलुकमा एग्रिमो (राजदूतका रूपमा स्वीकार गर्ने सहमति) का लागि पठाइनेछ।
सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
प्रस्तावित राजदूतहरू :
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — अमेरिका
४. गौरव शम्शेर जंगबहादुर राणा — बेलायत
५. जिग्यानकुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शरू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा.डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मञ्चला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरब