विराटनगर, २ असोज । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि मोरङका नेता तथा कार्यकर्ताले पार्टीको महाधिवेशनलाई साझा प्रक्रियाबाट अघि बढाउन माग गरेका छन्।
मोरङ कांग्रेसका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्र समानान्तर रूपमा अघि बढिरहेका महाधिवेशन प्रक्रियाले संगठनात्मक विवाद थप जटिल बन्न सक्ने भन्दै ‘एकताको महाधिवेशन’ गर्न नेतृत्वसँग आग्रह गरेका हुन्।
उनीहरूले महाधिवेशनलाई पार्टीभित्रको विभाजन र प्रतिस्पर्धा बढाउने माध्यम नभई संगठनलाई एकताबद्ध बनाउने लोकतान्त्रिक अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
संयुक्त विज्ञप्तिमा दुवै महाधिवेशन प्रक्रियालाई एउटै साझा प्रक्रियामा ल्याई सबै पक्षको सहभागिता र सहमतिमा महाधिवेशनको वातावरण बनाउन माग गरिएको छ। त्यसका लागि संवाद र सहमतिमार्फत विवाद समाधान गरी सबै पक्षले स्वीकार गर्न सक्ने स्पष्ट, निष्पक्ष र सर्वस्वीकार्य महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
नेता तथा कार्यकर्ताले आफूहरू कुनै व्यक्ति वा समूहको पक्ष वा विपक्षमा नभई पार्टीको एकताको पक्षमा रहेको बताएका छन्। उनीहरूले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, संस्थागत मर्यादा र ऐतिहासिक विरासत जोगाउन अहिले पार्टीभित्र सहमति र एकताको आवश्यकता रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा गोपालमानसिंह राजभण्डारी, नागेश कोइराला, केदार कार्की र निरञ्जन रिजाललगायत मोरङ कांग्रेसका विभिन्न तहका नेता तथा प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
त्यसैगरी नगेन्द्र जम्मरकट्टेल, रामहरि कोइराला, नईम आलम, पार्वती यादव, सुधीरकुमार अर्याल, देवेन्द्र पोखरेल, देवी भण्डारी, सुशील कोइराला, मुसरफ खान, सुमित्रा कोइराला र अञ्जना अधिकारीलगायतले पनि संयुक्त आह्वानमा समर्थन जनाएका छन्।
क्षेत्रीय तथा महानगर तहबाट मधुबाबु तिवारी, दीपक चापागाईं, जितेन्द्र गोल्छा, विमल राजभण्डारी, विकास पराजुली र हरिश्चन्द सहनीलगायत पनि विज्ञप्तिमा सहभागी छन्।
पूर्वसांसद तथा नेपाल महिला संघ मोरङकी सभापति शान्ता पौडेल, विराटनगर–७ का वडा सभापति अशोक विष्ट, विराटनगर–१ का पूर्ववडा सभापति केशव बस्नेत र विराटनगर–११ का क्षेत्रीय प्रतिनिधि सञ्जय नेपालले समेत ‘एकताको महाधिवेशन’को मागमा समर्थन जनाएका छन्।
उनीहरूले गुटगत प्रतिस्पर्धाभन्दा पार्टी एकता, व्यक्तिगत जित–हारभन्दा सहमति र अलग–अलग महाधिवेशनभन्दा साझा प्रक्रियाबाट महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।