इनरुवा, १२ असोज । सुनसरीको इनरुवामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ करिब ५ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकमा पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका तीन जनालाई शंकाका आधारमा चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–१ का २० वर्षीय तोरण माझीको मलद्वारको भागबाट ५.४९ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा इटहरी–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनालाई बरामद पदार्थसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।