इनरुवा, १५ असोज। धरान उपमहानगरपालिकाको नयाँ स्मार्ट बसपार्क सञ्चालनलाई लिएर विवाद चर्किएको छ। सार्वजनिक बसहरू नयाँ बसपार्कमा प्रवेश नगरी सिधै भानुचोकबाट यात्रु ओसारपसार गर्न थालेपछि धरान–८ का वडाध्यक्ष धनबहादुर राईसहित स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।
बुधबार स्थानीयवासी लट्ठीसमेत लिएर सडकमा बसेर सवारीसाधन रोक्न थालेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। नयाँ बसपार्क सञ्चालनमा आइसकेपछि पनि भानुचोकबाटै बस सञ्चालन हुन थालेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरानवासीलाई आवतजावतमा सहजता प्रदान गर्ने भन्दै भानुचोकमा यात्रु झार्न पाउने निर्णय गरेपछि विवाद सुरु भएको हो। उक्त निर्णयपछि इटहरीबाट आउने बसहरू भानुचोकमै रोकेर यात्रु झार्ने र चढाउने गर्न थालेको स्थानीयको आरोप छ।
स्थानीयवासीले नयाँ स्मार्ट बसपार्क निर्माण भइसकेपछि सार्वजनिक यातायातका साधन त्यहीँबाट सञ्चालन हुनुपर्ने माग राख्दै आएका छन्। केही दिनदेखि भानुचोकमै बसको स्ट्यान्ड राखेर यातायात सञ्चालन हुन थालेपछि उनीहरूको असन्तुष्टि थप बढेको हो।
धरान–८ का वडाध्यक्ष धनबहादुर राईले नयाँ स्मार्ट बसपार्कलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले यातायात व्यवसायी र स्थानीय तहबीचको मिलेमतोमा बसपार्कलाई असफल बनाउन खोजिएको आरोपसमेत लगाए।
वडाध्यक्ष राईका अनुसार कार्यवाहक मेयर बेघाले मंगलबार इटहरीबाट आउने बसलाई भानुचोकमा यात्रु झार्न दिने गरी एकलौटी निर्णय गरेपछि समस्या थप जटिल बनेको हो। सुरुमा यात्रु झार्न मात्रै अनुमति दिइएको भनिए पनि यातायात व्यवसायीले भानुचोकबाटै यात्रु चढाउने र ओसारपसार गर्ने कामसमेत गर्न थालेपछि आफूहरू विरोधमा उत्रिनुपरेको उनले बताए।