इनरुवा बजारमा अनुगमन, म्याद गुज्रेका तथा अखाद्य वस्तु नष्ट

Logo
Popular News सोमबार, आश्विन १९, २०८३

इनरुवा, १९ असोज । चाडपर्वलाई लक्षित गर्दै इनरुवा नगरपालिकाको समन्वयमा इनरुवा बजारमा सञ्चालित विभिन्न पसल तथा व्यवसायको अनुगमन गरिएको छ।

बजारमा म्याद गुज्रेका, अखाद्य तथा गुणस्तरहीन सामग्री बिक्री भइरहेको जनगुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, इनरुवा नगरपालिका, उद्योग वाणिज्य संघ र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत राकेश मण्डल, जिल्ला प्रशासन कार्यालय सुनसरीका ठकिन्द्र राज दाहाल, इनरुवा नगरपालिकाका कुमारी भट्टराई र गीता सुवेदीलगायत सहभागी थिए।

अनुगमनका क्रममा किराना पसल, खाद्यान्न गोदाम, डेरी तथा तरकारी बजारको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका, अखाद्य तथा गुणस्तरहीन उपभोग्य वस्तु फेला परेपछि टोलीले नियन्त्रणमा लिएर सार्वजनिक रूपमा नष्ट गरेको छ।

यस्तै, व्यवसाय दर्ता नगरेका, दर्ता नवीकरण नगरेका तथा पसलमा मूल्यसूची नराखी मनोमानी रूपमा व्यापार सञ्चालन गरिरहेका केही व्यवसायीलाई नियमानुसार जरिवाना गरिएको छ। अन्य व्यवसायीलाई तत्काल सुधार गर्न चेतावनी दिँदै सचेत गराइएको खाद्य अनुसन्धान अधिकृत राकेश मण्डलले जानकारी दिनुभयो।

उहाँले नियमित अनुगमनको अभावको फाइदा उठाउँदै अखाद्य वस्तु बिक्री गर्ने छुट कसैलाई नभएको बताउनुभयो। कानुनी मापदण्ड पालना नगर्ने व्यवसायीमाथि आगामी दिनमा थप कडा कारबाही गरिने उहाँको भनाइ छ।

यसैबीच, इनरुवा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले प्रशासनको अनुगमन कार्यमा सहयोग गर्दै स्वच्छ र गुणस्तरीय वस्तुको कारोबार गर्न सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800