कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता

Logo
Popular News मंगलबार, आश्विन २०, २०८३

इनरुवा, २० असोज । नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आजदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन बन्दसत्रबाट अनुमोदन भएपछि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ।

आजै अपराह्न उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध तथा साँझ ७ बजे दोस्रो नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ। असोज २१ गते बिहान उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारलाई प्रचारप्रसारका लागि समय दिइनेछ।

यस महाधिवेशनबाट नेपाली कांग्रेसले वरिष्ठ उपसभापतिसहित २ सय ९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ। संशोधित विधानअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति र एक महिलासहित चार उपसभापति निर्वाचित हुने व्यवस्था छ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि काठमाडौंमा तीन स्थानमा केन्द्र तोकिएको छ।

कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिका लागि काठमाडौंको खुलामञ्चमा मतदान केन्द्र रहनेछ। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृह तथा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनमा मतदान गर्नेछन्।

विद्युतीय मेसिनको सट्टा मतपत्रबाट मतदान गराउने तयारी गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800