सुनसरीको हरिपुरमा यात्रुवाहक बस नहरमा खस्यो, १९ जना घाइते

Logo
Popular News बुधबार, आश्विन २१, २०८३

इनरुवा, २१ असोज । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस नहरमा खस्दा १९ जना घाइते भएका छन्।

विराटनगरबाट सिरहाको लहानतर्फ जाँदै गरेको को १ ख ४७७७ नम्बरको बस मंगलबार साँझ आफैँ अनियन्त्रित भई सडकबाट नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा करिब ३० जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी कटान, हरिपुर र भाण्टाबारीबाट प्रहरी टोली तथा ट्राफिक प्रहरी पोस्ट कटान, लौकही र भाण्टाबारीबाट ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाएको थियो।

घाइतेमध्ये १३ जनाको स्थानीय मेडिकल भाण्टाबारी र ६ जनाको सप्तकोसी न्युरो अस्पताल, सुनसरीमा उपचार भइरहेको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सप्तकोसी न्युरो अस्पतालमा उपचाररत घाइतेहरूमा सिरहाका २१ वर्षीय सनक्षी कुमार यादव, ५२ वर्षीया शान्ति देवी, धनगढीमाई–१४ का ४४ वर्षीय होमबहादुर तामाङ, ३५ वर्षीया लक्ष्मी कुमारी लामा तथा सप्तरी भारदह–५ का १३ वर्षीय फारुक मन्सुरी र १० वर्षीय अजसारुख मन्सुरी रहेका छन्।

त्यस्तै, स्थानीय मेडिकल भाण्टाबारीमा उपचाररत घाइतेहरूमा सप्तरीका सरोजकुमारी चौधरी, टुनाई राम, विक्रम सरदार, हरिशंकर सरदार, टेक सरदार, शान्ति देवी यादव, रामकुमार, पुन्यराम, सरिता देवी राम, सन्तोषकुमार यादव, हेमबहादुर लामा, हनुमान राम र राजेश अधिकारी रहेका छन्।

दुर्घटनामा बस चालक र सहचालकको विवरण भने खुल्न सकेको छैन। दुर्घटनास्थल ट्राफिक प्रहरी पोस्ट भाण्टाबारीबाट करिब ३ किलोमिटर पूर्वमा पर्छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800