इनरुवा, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। बाढीले चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाउनुका साथै दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुलसमेत बगाएको छ।
आइतबार बिहान करिब ५ बजेतिर एक्कासि आएको बाढीले नदी आसपासका बस्तीमा क्षति पुर्याएको हो। चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको छ। बाढी पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनुब्री–३ का बजार क्षेत्रमा समेत ठूलो क्षति पुगेको उनले बताइन्।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार सोती र मान्वु जोड्ने मोटरेबल पुलसमेत बाढीले बगाएको छ। बाढीसँगै लेदो र ठूला ढुङ्गा बगेपछि आरुघाट क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। केही स्थानीयवासी सुरक्षित स्थानको खोजीमा आरुटारतर्फ गएको उनले जानकारी दिए।
बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए।
हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। बाढीबाट भएको अन्य भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। नदी आसपासका बासिन्दालाई सतर्क रहन, नदी किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।