इनरुवा, २७ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ हकपाडास्थित भित्री सडक खण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ४ लाख १० हजार ४ सय रुपैयाँ मूल्यको लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एच–०४–८६२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिने क्रममा भन्सार नतिरी ल्याइएको लत्ताकपडा बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएको लत्ताकपडाको अनुमानित मूल्य ४ लाख १० हजार ४ सय रुपैयाँ रहेको छ। घटनामा संलग्न रहेको आरोपमा मोटरसाइकल चालक ३० वर्षीय मोहम्मद सज्जादलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सज्जादलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।