इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिलाई लिएर विवाद चर्किरहेका बेला कोशी गाउँपालिका सभापति शाह जमालले विवाद समाधान नभएसम्म ऐयुव अन्सारीलाई नै क्षेत्रीय सभापतिको हैसियतमा स्वीकार गर्ने बताएका छन्।
सभापति गफार अन्सारी मियाँ भएको आधिकारिक प्रमाण आफूले नपाएको उल्लेख गर्दै शाह जमालले निर्वाचनमा प्रयोग भएको मतपेटिका प्रहरी कार्यालयमा रहेको र सहमति भएको कुनै लिखित निर्णयसमेत नरहेको दाबी गरेका छन्।
“सुनसरी क्षेत्र नम्बर ४ को सभापति गफार अन्सारी भएको प्रमाण खै ? निर्वाचनमा प्रयोग भएको मतपेटिका प्रहरी कार्यालयमा छ। सहमति भएको कुनै किसिमको लिखित निर्णय छैन। मैले गफार अन्सारीलाई कसरी सभापति मान्ने ?” शाह जमालले प्रश्न गरेका छन्।
उनले क्षेत्रीय सभापतिसम्बन्धी विवाद नटुंगिएसम्म ऐयुव अन्सारीलाई नै सभापतिको हैसियतमा स्वीकार गरेर अघि बढ्ने स्पष्ट पारे। सोही मान्यताका आधारमा आज पदस्थापन कार्यक्रम आयोजना गरिने पनि उनले बताएका छन्।
यता, गफार अन्सारी मियाँले भने ऐयुव अन्सारीको कार्यकाल समाप्त भइसकेको दाबी गर्दै पदस्थापन कार्यक्रमसम्बन्धी अपिलप्रति असहमति जनाएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विधिसम्मत प्रक्रियाबाट आफू क्षेत्रीय सभापतिमा चयन भएको उनको दाबी छ।
मियाँका अनुसार सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भइसकेका छन्। उनीहरू पार्टीको केन्द्रीय महाधिवेशन प्रक्रियामा समेत सहभागी भइसकेको र अधिवेशन सम्पन्न भएको उनको भनाइ छ।
क्षेत्रीय सभापतिलाई लिएर कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ मा देखिएको विवादका कारण नेतृत्वको वैधानिकता र पदस्थापन कार्यक्रमलाई लिएर नेताहरूबीच मतभेद देखिएको छ।
