सुनसरीमा सशस्त्र प्रहरीद्वारा ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढीको अवैध सामान बरामद।

Logo
Popular News शनिबार, कार्तिक २२, २०८३

इनरुवा, २१ कार्तिक । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले चालु आर्थिक वर्ष २०८३/०८४ को कार्तिक २० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ४५ लाख ९७ हजार ३९३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीले कार्तिक महिनामा मात्रै उक्त मूल्य बराबरका अवैध सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार दाखिला गर्नुका साथै प्रतिबन्धित तथा अवैध सामग्री नष्ट गरिएको गणले जनाएको छ।

यस अवधिमा सशस्त्र प्रहरीले ३३ किलो ५३ ग्रामभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा, ३२ ट्याब्लेट स्पास्मो प्रोक्सिभन, १ हजार १७० ट्याब्लेट ट्रामाडोल हाइड्रोक्लोराइड, १ हजार ३० ट्याब्लेट डाइसाइक्लोमाइन हाइड्रोक्लोराइड र ९९ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ।

लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूले ओसारपसारमा प्रयोग गरेका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका अन्य सामानमा मोटरसाइकल, पेय पदार्थ, किराना सामग्री, लत्ताकपडा, चप्पल, कृषि बीउबिजन, औषधि, भाँडावर्तन, मोटर पार्ट्स, पान मसला, बालबालिकाका खेलौना, मोबाइल पार्ट्स, हार्डवेयर सामग्री, सयपत्री फूल तथा सुर्तीजन्य पदार्थलगायत रहेका छन्।

त्यसैगरी, प्रतिबन्धित पटका, ब्रोइलर कुखुरा र सयपत्री फूललगायतका सामान नष्ट गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी, पैठारी तथा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800