इनरुवा, २६ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हाइसमा चालकसहित २० जना सवार थिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो ।
उद्धारका क्रममा १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । तीमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा रिफर गरिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा हाइस चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् ।
त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, २८ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय राम दुलार यादव, २४/२५ वर्षीय सुबोध यादव, १५ वर्षीय रोहन यादव, ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव र १७/१८ वर्षीय सुधेश यादवको मृत्यु भएको छ ।
घाइते हुनेमा चक्रघट्टा–४ का ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय र १४ महिनाका सुदिप यादव रहेका छन् । उनीहरूलाई थप उपचारका लागि क्रमशः काठमाडौंस्थित मेडिसिटी अस्पताल, भरतपुरको मनकामना अस्पताल र काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ ।
त्यसैगरी, ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।