इनरुवा, २७ कार्तिक ।सुनसरीको इनरुवा नगरपालिका–८ स्थित सुनसरी खोलामा फेला परेको शव भोक्राहा नरसिंहका करिब १५ वर्षीय मेराज शेखको भएको खुलेको छ ।
प्रहरीका अनुसार मृतकका बुबा अनवर शेखले शवमा लगाएको कपडाका आधारमा आफ्ना छोराको पहिचान गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा ल्याइएको प्रहरीले जनाएको छ ।
इनरुवा नगरपालिका–८ का वडाध्यक्ष अशोक कुमार साहुले पनि सुनसरी खोलामा फेला परेको शव भोक्राहाका किशोरको भएको जानकारी दिएका छन् ।
परिवारका अनुसार मेराज करिब पाँच दिनदेखि सम्पर्कविहीन थिए । उनको खोजीका लागि परिवारले सामाजिक सञ्जालमार्फत समेत सूचना सार्वजनिक गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।