

इनरुवा, २२ असार ।सशस्त्र प्रहरी बल सुनसरीले अवैध रुपमा भन्सार छली भित्र्याएको करिब १७ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ ।
ईनरुवा नगरपालिका वडा नम्बर ९ बबिया साम्बलास्थित सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडा र चार वटा मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक होमनाथ भट्टराईको कमाण्डमा खटिएको टोलीले गस्तीका क्रममा उक्त सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति तथा प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।