देवानगञ्ज गोलीकाण्डपछिको हिंसामा करोडौँको क्षति, ६९ सवारीसाधन र ११२ भौतिक संरचना प्रभावित

Logo
Popular News शुक्रबार, साउन २२, २०८३

इनरुवा, २२ साउन । देवानगञ्ज गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानीय तहमा भएको तोडफोड र आगजनीका घटनाबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

गत साउन १० गते राति देवानगञ्ज गोलीकाण्डपछि इनरुवा, हरिनगर, कोसी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकासम्म फैलिएको हिंसात्मक घटनामा दर्जनौँ घर, पसल तथा सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनामा ६९ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन्। तीमध्ये ५२ वटा दुई पाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ, जसमा ४४ वटा पूर्ण रूपमा नष्ट भएका छन् भने ८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

त्यसैगरी ८ वटा तीन पाङ्ग्रे सवारीसाधनमध्ये ५ वटा पूर्ण रूपमा र ३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ४ वटा चार पाङ्ग्रे सवारीसाधनमध्ये १ वटा पूर्ण रूपमा नष्ट भएको तथा ३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्वसाधारणका ११२ वटा भौतिक संरचनामा समेत क्षति पुगेको छ। २३ वटा पक्की घर प्रभावित भएकामध्ये १३ वटा पूर्ण रूपमा, १० वटा आंशिक रूपमा र १ वटामा सामान्य क्षति पुगेको छ।

यस्तै ३४ वटा कच्ची घरमा क्षति पुगेको छ, जसमध्ये २५ वटा पूर्ण रूपमा, ८ वटा आंशिक रूपमा र १ वटा सामान्य रूपमा क्षतिग्रस्त भएका छन्।

त्यसैगरी ५० वटा घर तथा टहरामध्ये ३७ वटा पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। साथै २ वटा मन्दिरमा आंशिक क्षति पुगेको छ भने ५ वटा अन्य संरचनामध्ये ३ वटा पूर्ण रूपमा, १ वटा आंशिक रूपमा र १ वटा सामान्य रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

डीएसपी खड्काले क्षति पुगेका संरचना र सवारीसाधनको विवरण सङ्कलन सम्पन्न भइसके पनि कुल आर्थिक क्षतिको यकिन मूल्याङ्कन अझै भइरहेको बताए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800