इनरुवा, २३ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज नेपालीहरूले घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउँदै छन्। वैदिक सनातन परम्परादेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने चलन रहिआएको छ।
तिहारको औँसीका दिन गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरपरिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्ने धार्मिक परम्परा छ।
ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीकका रूपमा व्याख्या गरिएको छ। गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुने धार्मिक विश्वासका कारण पनि गाईलाई विशेष महत्त्व दिइन्छ।
गाईको दूध पौष्टिक हुने र मानव जीवनमा महत्त्वपूर्ण योगदान पुर्याउने भएकाले गाईलाई मातृस्वरूप मान्ने गरिएको हो। धार्मिक पूजा तथा अनुष्ठानमा गाईको दूध, गोबर र गोमूत्रबाट पञ्चगव्य तयार गरी प्रयोग गर्ने परम्परासमेत छ।
आजको दिन गाईलाई फूलमाला लगाई पूजा गरेर मीठा परिकार खान दिने चलन छ। यसो गर्दा घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।
त्यस्तै, साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराइदिने धार्मिक मान्यता पनि रहेको छ।